Monday, November 30, 2020
Home Blog Page 12

प्रदेश २ को विभिन्न अस्पतालमा सर्पदंशको एन्टीभेनम उपलब्ध


जनकपुरधाम :
 प्रदेश २ को धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सालगायत जिल्लामा सर्पदंशको एन्टीभेनम सुई उपलब्ध गराइएको छ।

वर्षात र गर्मीका कारण यस क्षेत्रमा सर्पदंशका विरामी बढ्दै गएपछि एन्टीभेनम प्रयाप्त मात्रमा उपलब्ध गराइएको जनाइएको छ।

प्रदेशका जिल्लाका स्वास्थ्य संस्थामा सर्पदंशबाट प्रभावित व्यक्तिलाई तत्काल उपचार गर्न एन्टीभेनम सुईको भायल शुक्रबार उपलब्ध गराइएकोे क्षेत्रीय मेडिकल स्टोर हेटौँडाले जनाएको छ । एन्टीभेनम सुई १५० देखि बढीमा ८०० भायलसम्म सम्बन्धित जिल्ला अस्पताल, स्वास्थ्यचौकी र प्राथमिक उपचार केन्द्रमा पठाइएको मेडिकल स्टोरका प्रमुख रमण झालाई उधृत गर्दै राससले जनाएको छ।

एन्टीभेनम सुईको भायल प्रदेश २ का जनकपुर अञ्चल अस्पताल, वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल, महोत्तरी जिल्ला अस्पताल, रौतहट जिल्ला अस्पताल, कलैया जिल्ला अस्पताल, मलगंवा जिल्ला अस्पताल, नवलपुर स्वास्थ्यचौकी सर्लाही र निजगढ स्वास्थ्यचौकी बारामा उपलब्ध गराइएको छ ।

यसैगरी प्रदेश नं ३ का सिन्धुली जिल्ला अस्पताल र भरतपुर अस्पतालमा एन्टीभेनम सुई उपलब्ध गराइएको क्षेत्रीय मेडिकल स्टोरले जनाएको छ।

मन्त्री मण्डल भन्छन्,‘कष्ट झेलेर पनि मधेश आन्दोलनाई सार्थक बनाउंछु’(अन्तरवार्ता)


विद्यार्थी राजनीतिबाट मधेश राजनीतिको जिम्मेवार ओहदामा पुगेका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सहमहामन्त्री सुरेश मण्डलले बुधबार मात्रै उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्रीको शपथ लिए। सिरहा जिल्लाबाट प्रदेश सभामा निर्वाचित मण्डलको केन्द्रीय राजनीतिमा पनि छुटै पहिचान छ।

नेपालको स्थायी सत्ताप्रति सँधै आक्रमक रहँदै आएका मण्डल मधेश आन्दोलनमा अग्रणी भूमिका खेलेका थिए। प्रदेश २ को सरकार र मधेश राजनीतिका विषयमा हुलाकी न्यूजका लागि सम्पादक बीपी साहले गरेको छोटो कुराकानीको सम्पादित अंश।

० तपाईले उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ। तपाईको मन्त्रालयसँग सरोकार राख्ने क्षेत्रहरुलाई कसरी अगाडि बढाउने सोच्नु भएको छ?

सबभन्दा पहिले त यो मेरो मन्त्रालय अन्तरगतको पहिलो जिम्मेवारी हो। दोस्रो कुरा, म राज्य मन्त्री छु। तर पनि मेरो जिम्मेवारी महत्वपूर्ण छ। सबभन्दा पहिले त आफ्नो विभागीय मन्त्रीसँग अवस्था के छ कस्तो छ भन्ने जानकारी पाउनेछु। त्यस पछि यसका क्षेत्रहरुका विषयमा जानकारी लिदैछु।

खास गरी मेरो सोच के छ भने मधेशको दुईवटा विशेषता छ। पहिलो जमिन र दोस्रो जनसंख्या छ। यो दुईवटा महत्वपूर्ण शक्ति मधेशसँग छ।

जमिन कृषिसँग बढी जोडिन्छ। जनसंख्यालाई कसरी उपयोग गर्ने भन्ने विषयमा सोचेको छु। पहिलो चरणमा म सफल भए भने कम्तिममा मधेशका आठ वटा जिल्लामा एक–एक हजार जनालाई रोजगारी दिलाउने प्रयास गर्नेछु। जसका लागि आठ वटा जिल्लामा न्यूनतम् एक–एक वटा उद्योग सञ्चालनमा ल्याउनेछु। यसबाट मेरो कामको थालनी गर्नेछु।

त्यसैगरी पर्यटनको कुरा छ, वातावरणको कुरा छ, वातावरणीय हिसावले मधेश सबभन्दा चुनौतिपूर्ण अवस्थामा छ। मधेशमा जुन समयमा पानी पर्नु पर्ने हो त्यो समयमा खडेरी पर्छ र जुन समयमा सुखाको आवश्यकता पर्छ त्यो समयमा बाढी आउँछ। अनावश्यक रुपले कटानी र डुबान भइरहेको छ। गर्मीमा धेरै गर्मीले मान्छे मर्छन् जाढोमा धेरै जाढोले मान्छे मर्छन्। वातावरणीय असन्तुलनका कारण भएको हो। यो वनसँग जोडिएको छ। वातावरणीय सन्तुलनका लागि विज्ञहरुसँग छलफल गरी यस क्षेत्रमा काम गर्ने तयारी गरेको छु।

० अनी मधेशको पर्यटनका क्षेत्रमा?

मधेशको पर्यटकी क्षेत्रलाई पनि अगाडि बढाउने विचार गर्दैछु। मधेशको जानकी मन्दिर, सिमरौनगढ, सखरा भगवती, सल्हेस फुलबाईर, बाबाताललगायतका क्षेत्रलाई विश्वमा कसरी चिन्हाउने विषयमा पनि काम गर्नेछु। मधेशको जुन सकारात्मक पक्षहरु छन्, जो सुन्दरता छ त्यसलाई कसरी विश्वमा परिचित गराउने त्यस विषयमा काम गर्ने मेरो प्राथमिकता हुनेछ।

त्यसैगरी चुरे संरक्षणको सवाल छ, चुरेसँग मधेशको भविष्य जोडिएको छ। यो विषयहरुमा म केन्द्रीत रहनेछु।

० तपाईले यतिका आकांक्षा बोक्नु भएको छ तर प्रदेश २ सरकार र केन्द्र सरकारबीच टसल पनि भइरहेको देखिन्छ। यसबीचमा कसरी सफलता हाँसिल गर्न सकिन्छ होला?

केन्द्र सरकार र मधेश सरकारबीच टसलको कुरा जायज हो। मधेश आन्दोलन नेपालको स्थायी सत्ताको विरुद्ध भएको थियो। र, अहिले नै हेर्नु भएको होला, हामी तीन जना राज्यमन्त्रीको सिफारिस हुँदा नेपाली मिडियाले अभियुक्त भनेर लेख्न थाले। नेपाली राज्यको जे सोच छ त्यसमा हरेक मधेशी अभियुक्त छन्। म पनि अभियुक्त होला। ममाथि पनि मधेश आन्दोलनका दुई–तीनवटा मुद्दा छ।

हिजो माओवादी पनि अभियुक्त नै थिए तर अहिले राज्य संचालन गर्दैछ। यो समान्य कुरा हो। हामीले राज्यको विरुद्धमा आन्दोलन गरेका थियौं, यो सत्ताको चिन्तन पनि मधेशी विरोधी हो। जसको विरोध हामीले गरेका थियौं।

रहयो टसलको कुरा, मधेश र खासगरी प्रदेश २ संघीयताको पर्यावाची शब्द हो। यो देशको राज्य सत्ताले चाहँदैन कि संघीयता रहोस्। तर हामी चाहँदै छौं कि संघीयता रहोस्। जतिसुकै दुःख कष्ट सहेर संघीयतालाई सफल पार्न चाहान्छौं। त्यसकारण केन्द्र सरकारसँग टसल केही न केही हुन्छ नै।

जस्तै, कि प्रहरी ऐन हामीले संविधानमा टेकेर ल्याएका छौं। तर पनि केन्द्र सरकारको टाउको दुखेको छ। यो कुरा बुझ्ने वितिकै केन्द्र सरकारले प्रदेश सरकारका सचिवको सरुवा गर्यो। जवकी यो प्रदेश सरकारको संविधान प्रदत अधिकार हो। त्यसकारण केन्द्र सरकारको टाउको दुखाईको विषय प्रदेश २ सरकार रहिरहनेछ।

केन्द्र सरकार र नेपालको स्थायी सत्ताको चुनौतीको सामना गर्दै हामी सफल हुनेछौं।

० तर प्रदेश २ को सरकारमा दलितको सहभागिता नभएको भन्दै आलोचना हुँदैछ नि। यसअवस्थामा समग्र मधेशीले तपाईहरुको साथ कसरी देला त?

मधेश आन्दोलनको भनौं अथवा राजपाको भनौं मुख्य एजेण्डा नै समानुपातिक समावेशी हो। हामीले पूर्ण समानुपातिक समावेशीको कुरा गर्दै आएका छौं। त्यस हिसाबले अहिलेको मन्त्री परिषद् अपुर्ण छ। सबै क्लष्टरहरुलाई मिलाएको भए अझै समावेशी हुन सक्थ्यो होला। तर हुन सकेन। सिटको पनि अभाव नै छ र पछिल्लो समय तीन राज्यमन्त्री नियुक्त हुँदा अलिक बढी विरोध भएको जस्तो देखियो । एक जना महिला पर्नु भयो, मलाई मधेशी जनजातिबाट लिएको बुझिन्छ र अभिराम जी पनि युवाको प्रतिनिधित्व गरेको देखिन्छ। यसलाई खासै विवादको विषय बनाउनु उपयुक्त होइन। एक जना दलित भएको भए झनै राम्रो हुन्थ्यो तर हुन सकेन।

तर सबै मधेशीले मधेश सरकारलाई सहयोग गर्नेछ। चुनावताका कोही अरु पार्टी वा राजनीतिक विचारधाराको भएपनि सबै मधेशी हुन्। र, मधेशीको अस्मिता जोगाउन सबैले साथ दिनेमा म विश्वस्त छु। चाहे त्यो कम्युनिष्ट विचारधाराका मधेशी हुन् अथवा कांग्रेस विचारधाराका । अथवा मधेशवादी दललाई विरोध गर्ने हुन्। आफ्नो अस्मिताको रक्षा गर्न सबै एकजुट भएर मधेश सरकारलाई सफल पार्नेछ। र, संघीयतालाई जोगाउनेछ भन्नेमा म शतप्रतिशत विश्वस्त छु।

० अनी प्रदेश सरकार भित्रकै फोरम नेपाल र राजपाबीच खटपट भइरहेको नेपाली मिडियाहरुमा सुनिन्छ नि?

प्रदेश २ को सरकारमा राजपा र फोरमबीच कुनै खटपट भएको छैन। त्यो नेपाली मिडियाहरुको नजरमा देखिएको हो। काठमाडौंका मान्छेलाई त्यस्तो लाग्छ होला। तर प्रदेश २ को सरकार र सत्ता गठबन्धन सबभन्दा राम्रो तरिकाले चलेको छ। केन्द्रमा कसैले केही बोले पनि मधेशका जनताहरुको भावनासँग प्रदेश सरकार जोडिएको छ। त्यसकारण प्रदेश सरकारका दुबै दलले मधेशी जनताको भावना अनुरुप काम गर्दैैछ।

जसका लागि मधेश आन्दोलन भएको त्यो कुरा हामीले सफल बनाएर देखाउने छौं। मधेश आन्दोलन गलत थिएन भनेर हामी दुनियालाई प्रमाणित गरेर देखाउने छौं यो सरकारलाई र प्रदेशलाई राम्ररी हाँकेर। हामीले मधेशीको बलिदानी खेर जान दिने छैनौं।

तपाईहरुले हेर्दै हुनुहुन्छ होला यो देशमा कुनै प्रदेश सक्रिय छ भने त्यो हो प्रदेश २ । कुनै प्रादेशिक सरकारले काम गर्दैछ भने त्यो हो २ नम्बरको सरकार। यस्ता धेरै राम्रा राम्रा कार्यक्रमहरु आएका छन्, बेटी बचाउ भेटी पढाउ कार्यक्रमदेखि सहिद परिवारलाई रोजगारीलगायतका कार्यक्रम सुरु भएको छ। मुख्यमन्त्री ज्यूले घोषणा गरेर अभियान सुरु पनि भएको छ। त्यसकारण राजपा र फोरम दुबै मधेशका लागि संघर्ष गर्दै आएको शक्ति हो र दुबै दलले संघर्ष गरिरहनेछ।

० अन्तिम प्रश्न, मानव विकास सुचांकमा पनि मधेश पछाडि छ । खास गरी प्रदेश २ को कुरा गरौं भने धेरै पछाडि छ। यसलाई कसरी सुधार्न सकिन्छ?

सबभन्दा पहिले यो शिक्षा र अर्थसँग जोडिने विषय हो । विगतमा के रह्यो भने मधेशमा अशिक्षा बेरोजगार थियो । केन्द्र सरकारबाट यसको निराकरणका लागि कुनै कार्य भएन। नेपाल सरकारले झन् यसलाई बढाउने प्रयास गरे। मधेशको शिक्षा झन् विर्गानमा नेपाल सरकारले मदत गरेको छ।

मधेशको अर्थतन्त्रलाई विगार्ने काम नेपाल सरकारबाट भयो। मधेशको सांस्कृतिक पक्षलाई पनि मेटाउने प्रयास भएकोछ । मधेशको जति पनि सकारात्मक कुरा थियो त्यसलाई नेपाल सरकारले मेटाउने प्रयास गरे अथवा बदनाम गर्ने प्रयास गरे। त्यसमा यीनीहरुले खेले।

अव यसलाई सुधार गर्ने जिम्मेवारी प्रदेश सरकारको मातहतमा आएको छ। जुन किसिमले स्वतन्त्रता पूर्वक प्रदेश सरकारले काम गर्नु पर्ने थियो त्यसरी काम गर्न पाएको छैन। भोली प्रदेश सरकार असफल भयो भने त्यसको सबभन्दा पहिलो आरोप केन्द्र सरकारलाई लाग्नेछ किनभने केन्द्र सरकारले प्रत्येक पाइलामा हामीलाई रोक्ने प्रयास गरेको छ।

हामीले संविधानद्धारा प्रदान गरिएको कुनै कुरा हामीले अगाडि बढाउँछौं भने त्यसमा केन्द्र सरकारले खुटा अडाउँदै आएको छ। अहिलेसम्म मधेशका कर्मचारी प्रदेश २ सरकार मातहतमा आएको छैन। कर्मचारी समायोजन गर्दैछु भनेर केन्द्र सरकारले भन्दै आएको छ। तर गरेको छैन। हामी एउटा साधारण खरदार सुब्बाको पनि सरुवा गर्न सक्ने स्थितिमा छैनौं।

यो संविधानमा दिइएको अधिकार हो तर अहिलेसम्म केन्द्र सरकारले काम गर्न दिएको छैन। तर यो हाम्रो चुनौती हो कि यस्तो समस्याग्रस्त अवस्थामा संघीयतालाई टिकाउनु छ। त्यसकारण हामीले जस्तो सुकै समस्या आएपनि संघीयतालाई टिकाउने पक्षमा छौं।

दलितलाई १७.२९ प्रतिशत आरक्षण दिन प्रदेश सरकार सहमत


जनकपुरधाम : प्रदेश २ को प्रहरी ऐनमा दलितहरुले १७ दशमलब २९ प्रतिशत आरक्षण पाउने भएका छन्।

प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्रीमा ज्ञानेन्द्र यादव र दलित तथा मुस्लिम अगुवाहरुबीच प्रहरी ऐनमा भएको त्रुटी सच्याउने सहमति भएको छ।

मन्त्री यादवले त्रुटी सच्याउने विषयमा छलफलका लागि मंगलबार दलित र मुश्लिम समुदायका अगुवालाई प्रदेशका मुख्य न्यायधिकावक्ताको कार्यालयमा बोलाएका थिए।

उक्त छलफलमा आरक्षित ४५ प्रतिशतलाई शतप्रतिशत मानेर दलित समुदायको माग अनुसार अब दलित १७.२९ प्रतिशत, मुश्लिम ११.५८, थारु ५.२७, मधेसी ५४.३, आदीवासी जनजाति ६.६ र खसआर्यलाई ४.८९ प्रतिशत आरक्षणको व्यवस्था सहमति भएको दलित अगुवा भोला पासवानले जनाएका छन्।

सबै कलस्टरमा ५० प्रतिशत महिला प्रतिनिधित्व अनिर्वाय गरिनेछ । अगामी साउन १० गतेदेखी सुरु हुने प्रदेश सभा बैठकमा सच्याइएको प्रदेश प्रहरी ऐन टेबुल गरिने जनाइएको छ।

अगामी नीति निर्माण गर्दा दलित समुदायको सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता प्रदेश सरकारले जनाएको पासवानले बताए।

यसअधि प्रहरी ऐनको मस्यौदामा दलितलाई जम्मा ७ प्रतिशत आरक्षणको व्यवस्था गरिएको थियो। जसको विरोध प्रदेश २ का दलितहरुले गरेका थिए।

देउवाले श्रीमती, ओलीले सालो र प्रचण्डले ज्वाई तथा बुहारीलाई उम्मेदबार बनाए


काठमाडौं : राणा शासन र राजतन्त्रको अन्त्य भए पनि राजनीतिमा वंश परम्परा बाँकी नै छ। यसको प्रमाण खोज्न टाढा जानै पर्दैन। प्रधानमन्त्ती एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रीमतीलाई जित सुनिश्चित हुने क्षेत्रमा उम्मेदवारी दर्ता गर्न कैलाली पुर्याएका छन्। देउवा आफू उपस्थित नभई वारेसनामा मार्फत् डडेल्धुरा-१ मा उम्मेदवारी दर्ता गराए। श्रीमती आरजु राणा देउवाले तामझामका साथ कैलाली-५ मा पुगेर उम्मेदवारी दर्ता गराएकी छिन्।

उता एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा-५ मा पुगेर उम्मेदवारी दर्ता गराए। वाम गठबन्धन गरेर आफ्नो जित सुनिश्चित गरेका ओलीले सिट बाँडफाँडको क्रममा प्रचण्डलाई आफ्नो मान्छेलाई एक सिट चाहिने भन्दै सालोलाई प्रदेशसभामा सुरक्षित गरेका छन्। ओलीका सालो ज्ञानेन्द्र शाक्य ललितपुर क्षेत्र नम्बर २ (ख) मा उम्मेदवार बनेका छन्।

त्यस्तै, माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का नातागोता अझ बढी नै चुनावी मैदानमा देखिए। प्रचण्ड स्वयम् वाम गठबन्धनको तर्फबाट चितवन ३ मा मनोनयन दर्ता गर्न पुगे। छोरा प्रकाशकी श्रीमती अर्थात् बुहारी बिना मगरले कञ्चनपुर १ मा उम्मेदवारी दर्ता गराएकी छिन्। यता कान्छो स्वाइँ जीवन आचार्यलाई मोरङको क्षेत्र नम्बर ६ (क) मा प्रदेशसभाको उम्मेदवार बनाएका छन् भने भाइ नारायण दाहाललाई समानुपातिकको सूचीमा राख्न सफल भएका छन्।

पार्टी परिवर्तन गरेर टिकट पाउने मधेसी नेताहरु


वीरगन्ज :
 दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि टिकट नदिएपछि संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) का महासचिव र जिल्ला अध्यक्षसहित आधा दर्जन भन्दा बढी नेताले पार्टी परित्याग गर्दै अन्य दल र स्वतन्त्र तर्फबाट उम्मेदवारी दिएका छन्।
राजपाका महासचिव शिव पटेलले पार्टी परित्याग गरी प्रदेशसभा सदस्यका लागि स्वतन्त्र रुपमा पर्साको क्षेत्र-२ (ख) मा उम्मेदवारी दिएका हुन्। यस्तै राजपाकै अर्का महामन्त्री महम्मद कदम रसुलले पनि पार्टी परित्याग गर्दै नेपाल संघीय समाजवादी पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि पर्सा क्षेत्र-१ मा उम्मेदवारी दिएका हुन्।

यस्तै चुनावै पिच्छे दल परिवर्तन गर्ने नेताका रुपमा परिचित वीरगन्जका पूर्वमेयर विमल श्रीवास्तवले पनि प्रतिनिधिसभा सदस्यका लागि पर्सा-१ मा फोरम नेपालका तर्फबाट बिहीबार उम्मेदवारी दर्ता गराएका छन्।

स्थानीय तहको निर्वाचनमा नेपाल लोकतान्त्रिक फोरमका तर्फबाट वीरगन्ज महानगरको मेयरमा चुनाव लडेका श्रीवास्तव पराजित भएपछि गत शुक्रबार उनी फोरम नेपालमा प्रवेश गरेका थिए। स्थानीय तह निर्वाचनमा अघि राजपाको महामन्त्री रहेका श्रीवास्तवलाई पार्टीले टिकट नदिएपछि मनोनयनको एक दिन अघि राजपा परित्याग गरि लोकतान्त्रिक फोरममा प्रवेश गरी उनले वीरगन्जको मेयरमा उम्मेदवारी दिएका थिए।

पञ्चायत काल र बहुदलीय व्यवस्थामा गरी राप्रपा र स्वतन्त्रबाट चार पटकसम्म वीरगन्जको मेयर भइसकेका श्रीवास्तव, लोकतान्त्रिक फोरम कांग्रेसमा विलय भएपछि गत शुक्रबार फोरम नेपालमा प्रवेश गरेका थिए।

पार्टीले टिकट नदिएपछि राजपाका जिल्ला अध्यक्ष मण्डलका सदस्य इमदाद गद्धी सुगाले पनि पार्टी परित्याग गरी नेपाल संघीय समाजवादी पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि पर्साको क्षेत्र नम्बर ४ मा बिहीबार मनोनयन दर्ता गराएका छन्।

राजपाकै महिला मन्चकी जिल्ला अध्यक्ष अनिता रौनीयारलाई पार्टीले टिकट नदिएपछि उनले नेकपा मालेका तर्फबाट प्रदेशसभा सदस्यका लागि पर्साको क्षेत्र नम्बर १ (ख) मा उम्मेदवारी दर्ता गराएकी छन्। राजपाको जिल्ला कार्य समितिले प्रदेशसभा सदस्यका लागि रौनीयारको नाम सिफारिस गरेपनि राजपाको केन्द्रिय कार्य समितिले अन्तिम समयमा उनको नाम उम्मेदवारको सूचीबाट हटाएपछि उनले मालेका तर्फबाट बिहिबार मनोनयन दर्ता गराएकी हुन्।

यस्तै राजपाको वीरगन्ज कार्य समितिका अध्यक्ष ओम प्रकाश सर्राफले पनि बिहीबार पार्टी परित्याग गर्दै प्रदेशसभा सदस्यका लागि पर्साको क्षेत्र नम्बर १ को ख मा स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनको नाम पनि राजपाको जिल्ला कार्य समितिले केन्द्रिय कार्य समितिमा सिफारिस गरेको थियो।

यस्तै पार्टीले टिकट नदिएपछि फोरम नेपालका नेता विन्ध्याचल ठाकुरले पनि प्रदेशसभा सदस्यका लागि पर्साको क्षेत्र नम्बर ३ को ख मा स्वतन्त्र उम्मेदवारी दिएका छन्। फोरम नेपालकै अर्का नेता शम्भु गुप्तालाइ पनि अन्तिम समयमा पार्टीले टिकट नदिएपछि उनी बिहीबार बिहान नेकपा एमालेमा प्रवेश गरेका थिए। उनले बिहीबार अपरान्ह निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रदेश सभा सदस्यका लागि वाम गठबन्धनका तर्फबाट पर्साको क्षेत्र नम्बर १ को (ख) मा मनोनयन दर्ता गराएका हुन्।

जिल्ला कार्य समितिले प्रदेशसभा सदस्यका लागि आफ्नो नाम सिफारिस गरेको भएपनि केन्द्रीय कार्य समितिले टिकट नदिएपछि शीर्ष नेतृत्वलाई व्यङग्य प्रहार गर्न राजपाका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र कुर्मीले बिहीबार बिहान वीरगन्जमा पाँच किलो लड्डु सर्वसाधरण र आफ्ना समर्थकलाई बाडेका थिए।

राजपाको केन्द्रीय अध्यक्ष मण्डलका सदस्यले कार्यकर्ताको योगदानको मूल्यांकन नगरी आफनो मनपरी ढंगले पैसाको चलखेल गरी टिकट वितरण गरेकाले आफूले पार्टी परित्याग गरी स्वतन्त्र रुपमा उम्मेदवारी दिएको राजपाका महासचिव पटेलले बताए।

उम्मेदवारीका सन्दर्भमा जिल्ला कमिटीले गरेको निर्णय केन्द्रीय नेतृत्वले कार्यान्वयन गरेन, उनले भने ,‘शीर्ष नेतृत्वले पैसाको चलखेलमा टिकट बाड्यो जसका कारण मधेसमा राजपाप्रति जनताको विश्वास अब रहेन, त्यसैले मैले पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएको हुँ।’

राजपाका अर्का महासचिव रसुलले पनि राजपाको शीर्ष नेतृत्वले पार्टीलाई छिन्न भिन्न पारेको र पैसाको चलखेलमा टिकट वितरण गरेकाले आफू पार्टी परित्याग गरेको बताए।

मधेसको मुद्दा नेताहरुले पैसामा बेचेर धनाढ्यहरुलाई मात्र टिकट दिए, उनले भने ,‘आफ्नो स्वार्थका लागि टिकट वितरणमा नेताले कार्यकर्ताको मूल्यांकन गर्न सकेनन्, त्यसैले पार्टी छोड्नुको विकल्प बाहेक मेरा सामू अरु केही रहेन र पार्टी छाडेको हुँ।

कांग्रेसले विर्से सहिद, कम्युनिष्टले सम्झे


प्रेम सुनार

गुल्मी – आज मनोनयन दर्ताको दिन नेपाली कांग्रेसलाई वाम गठबन्धनले चुनावी रणनीतिमा  वाजी मारेका छन् । नेपाली कांग्रेसबाट प्रजातन्त्रकालागि राज्यलाई टाउको बुझाएर शहिद भएका सम्शेरबहादुर खत्रीको सालिक निर्वाचन कार्यालय नजिकै थियो ।

नेपाली कांग्रेसको जुलुस निस्कीयो बाजा गाजाका साथ तर, उसले शहिद सम्शेरबहादुर खत्रीको शालिकलाई नै भुल्यो । तर, वामगठबन्धनका उमेद्वार एमाले नेताद्धय प्रदिपकुमार ज्ञवाली र गोकर्ण विष्ट सहितका सवै उमेद्वारहरु शहिद सम्शेरबहादुर खत्रीको शालिकमा माल्याणर्पण गरेर मात्र मनोनयन दर्ता गर्न पुगेका थिए ।

वाम गठबन्धनको त्यो रणननीति देखेर कांग्रेसजनहरु छक्क परेका थिए । हरेक वर्ष उनको शालिकमा नेपाली कांग्रेसले मात्र माल्याणर्पण  गर्ने गर्दथ्यो ।

मोहन बैद्यको घोषणा पत्रमा मधेशको विभेद


काठमाडौं-
 मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) को चुनावी मोर्चा ‘देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल’ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई क्रान्तिकारी उपयोग गर्ने नीति लिएको छ।

पार्टीद्वारा सार्वजनिक घोषणापत्रमा ‘निर्वाचनलाई बहिस्कारको तुलनामा उपयोग गरेर प्रतिक्रियावादीहरुको भण्डाफोर, जनसम्बन्धको विकास र संगठन विस्तार गर्न सहज हुने मूल्यांकन गर्दै देजमो, नेपालले क्रान्तिकारी उपयोग गर्ने नीति लिएको’ उल्लेख छ।

‘संसदीय व्यवस्था अन्तर्गत हुने निर्वाचनहरुलाई संसदवादी दलहरुले जस्तो मिठा नारा, गुलिया वचन र झुठा आश्वासन मार्फत जनताका आँखामा छारो हालेर सत्ता–राजनीतिको भर्‍याङ बनाउने काम गर्ने छैन’, घोषणपत्रमा भनिएको छ, ‘यसले संसदवादी दलहरुले देश र जनताका हित विरुद्ध गर्ने सबै प्रकारका गलत कार्यको विरोध र भण्डाफोर गर्दै संसदीय निर्वाचनलाई संघर्षको एउटा मञ्चका रुपमा क्रान्तिकारी उपयोग गर्ने नीति लिएको हो।’

देजमोले संविधानलाई हचुवाको भरमा बनाइएको भन्दै वर्तमान संघीय संरचनालाई अस्वीकार र विरोध गर्ने बताएको छ। ‘वर्तमान संरचनाको सट्टामा पहिचान र सामर्थ्यका आधारमा संघीय संरचना निर्माण गरिनेछ,’ भनिएको छ, ‘त्यसैगरी आत्मनिर्णयको अधिकारको सैद्धान्तिक स्वीकृति सहित जातीय, क्षेत्रीय स्वायत्तता तथा उत्पीडित जातीय पहिचानसहितको संघीयता लागू गरिनेछ।’

घोषणापत्रमा अहिले नेपालमा कायम भएको गणतन्त्रात्मक व्यवस्थालाई विकृत पूँजीवादी गणतन्त्र भनिएको छ। घोषणापत्रमा जनगणन्त्रलाई स्थापना गर्ने लक्ष्य लिएको पनि बताएको छ। ‘अहिले देशमा स्थापित भएको पश्चगामी सत्ता अन्तर्गतको पुँजीवादी गणतन्त्रभन्दा अगाडि बढेर त्यसको स्थानमा जनगणतन्त्रको स्थापना गर्न चाहन्छ’, घोषणापत्रमा उल्लेख छ, ‘आफ्ना नीति एवं कार्यक्रमहरुलाई त्यस दिशामा परिलक्षित गर्दै लैजानेछ।’

देजमोले देशमा जनगणतन्त्र स्थापना गर्ने आफ्नो लक्ष्यमा पुग्नका लागि यहाँका सम्पूर्ण प्रतिगामी र प्रतिक्रियावादी संसदवादी तत्वहरूका तीव्र र व्यापक भण्डाफोर गर्नुपर्ने आवश्यकतालाई उल्लेख गरेको छ।

घोषणापत्रमा नेपाली भूमिलाई मित्रराष्ट्रहरुका विरुद्ध प्रयोग हुन नदिने नीति लिने उल्लेख गरिएको छ। भनिएको छ, ‘मित्रराष्ट्रहरूका विरूद्ध नेपाली भूमि प्रयोग हुन दिइने छैन र निकटतम छिमेकी राष्ट्रहरूसँग सामीप्यताका आधारमा सम्बन्ध कायम गरिनेछ।’

उसले चीन र भारतबीचमा भएको व्यापारिक सम्झौतामा नेपालको लिपुलेकलाई भारतीय भू–भागको रूपमा उल्लेख गरिएकाले त्यसको खारेजीको पहल गर्ने पनि बताएको छ। साथै, नेपाल–भारत खुला सीमानाको नियन्त्रण र नियमन गर्ने र भारतद्वारा अतिक्रमित भू–भाग फिर्ता गर्न पहल गर्ने घोषणापत्रमा उल्लेख छ। उसले भारतसँग गरिएको बिप्पा सम्झौतालाई खारेज गर्ने पनि बताएको छ।

देजमोले जथाभावी भइरहेको प्लटिङलाई रोक्ने पनि बताएको छ। ‘वर्तमान अवस्थामा भइरहेको जथाभावी घरघडेरी (प्लटिङ) गर्ने कार्यलाई रोकिनेछ’, घोषणापत्रमा भनिएको छ।

सबै प्रदेशमा आवश्यकताका आधारमा मेडिकल कलेजहरू खोल्ने र सञ्चालन गर्ने व्यवस्था मिलाउने, नेपालमा बोलिने सबै भाषालाई राष्ट्रिय भाषाको मान्यता प्रदान गर्ने तथा सरकारी कामकाजका लागि बहुभाषिक नीति अवलम्बन गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा गरिएको छ।

घोषणापत्रमा मधेसी समुदायमाथि भेदभाव भएको भन्दै त्यसलाई अन्त्य गर्ने पनि उल्लेख गरिएको छ। भनिएको छ, ‘राज्यका तर्फबाट मधेशी समुदायमाथि हुँदै आएको भेदभावलाई अन्त्य गरिनेछ।’‍

निर्वाचनमा सेना परिचालनको निर्देशन


काठमाडौं
– निर्वाचन सुरक्षाका लागि योजनाबद्ध रुपमा फौज परिचालन गर्न रक्षामन्त्री भीमसेनदास प्रधानले नेपाली सेनालाई निर्देशन दिएका छन्।

जंगी अड्डामा निर्वाचन सम्बन्धी कार्यक्रममा मन्त्री प्रधानले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न योजनाबद्ध रुपमा फौज परिचालन गर्न निर्देशन दिएका हुन्।
‘जंगी अड्डाको निर्देशनमा योजनाबद्ध रुपमा फौज परिचालन गरी निर्वाचन सफल पार्न भूमिका निर्वाह गर्नुस्’, मन्त्रीले प्रधानले भने।

मन्त्रीको निर्देशनपछि नेपाली सेनाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने बताएको छ । जंगी अड्डामा निर्वाचन सुरक्षा सम्बन्धी कार्यक्रममा प्रधानसेनापति राजेन्द्रसिंह क्षेत्रीले सुरक्षामा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका हुन्।

निर्वाचन सुरक्षा मामिलामा अन्तर्राष्ट्रिय क्षेत्रबाट समेत सेनाको प्रशंसा भएको भन्दै प्रधानसेनापति क्षेत्रीले आफ्नो छवि कायम राख्न मातहतका निकायलाई निर्देशन दिए।

फोरमले टुँगो लगायो उम्मेदबार

Upendra Yadav
Upendra Yadav

काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि संघीय समाजवादी फोरम नेपालले उम्मेदबारहरुको टुँगो लगाएको छ ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँग दुई नम्बर प्रदेशको सिट बाँडफाँड भएसँगै फोरमले उम्मेदबारको सुची सार्वजनिक गरेको छ ।

पहिलो चरणका लागि सार्वजनिक गरिएको प्रतिनिधिसभाको ६२ जना सूचीमा अध्यक्ष उपेन्द्र यादव सप्तरी–२ बाट उठ्ने भएका छन् ।

त्यस्तै, महासचिव रामसहाय यादव बारा–२ बाट उठने पक्का भएको छ भने हालै पार्टी प्रवेश गरेका विमल श्रीवास्तवलाई पर्सा–२ बाट उम्मेदवार बनेका छन् ।

राजपा–फोरमको भागबण्डा मिल्यो, कांग्रेससँग छलफल जारी

काठमाडौं । दुई नम्बर प्रदेशको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालबीच सिट बाँडफाँड भएको छ ।

मंगलबार काठमाडौको तीनकुनेस्थित एक कार्यलयमा राजपा र फोरमका नेताहरुबीच सिट बाँडफाँडका विषयमा सहमति भएको छ । जसअनुसार ३२ सिट मध्ये प्रतिनिधि सभाको १७ फोरमको भागमा परेको छ भने राजपाको भागमा १५ सिट परेको छ ।

त्यस्तै, प्रदेशसभाको ६४ सिट मध्ये ३३ सिट फोरमको भागमा परेको छ भने ३१ सिट राजपाको भागमा परेको छ ।

धनुषामा प्रदेश सभाको एक मात्र सिट राजपालाई परेको छ । क्षेत्र नम्बर तीन राजपाको भागमा परेको छ । जहाँबाट राजपाका नेता राजेन्द्र महतो चुनावमा उठ्ने सम्भावना रहेको छ । तर कांग्रेससँगको तालमेल पछि महतोको विषयमा निश्चित हुनेछ ।

राजपा र फोरमबीच सिट बाँडफाँड भएपनि कांग्रेससँगको छलफल जारी रहेको छ । मंगलबार साँझ राजपा–फोरम र कांग्रेसबीच तालमेलको विषयमा अन्तिम छलफल हुँदैछ । बालुवाटारमा सिट बाँडफाँडमा कुरा मिले पछि राजपाले सम्पूर्ण उम्मेदबारहरुको नाम मंगलबार नै टुँगो लगाउनेछ ।

- Advertisment -