काठमाडौं । दुई नम्बर प्रदेशको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालबीच सिट बाँडफाँड भएको छ ।

मंगलबार काठमाडौको तीनकुनेस्थित एक कार्यलयमा राजपा र फोरमका नेताहरुबीच सिट बाँडफाँडका विषयमा सहमति भएको छ । जसअनुसार ३२ सिट मध्ये प्रतिनिधि सभाको १७ फोरमको भागमा परेको छ भने राजपाको भागमा १५ सिट परेको छ ।

त्यस्तै, प्रदेशसभाको ६४ सिट मध्ये ३३ सिट फोरमको भागमा परेको छ भने ३१ सिट राजपाको भागमा परेको छ ।

धनुषामा प्रदेश सभाको एक मात्र सिट राजपालाई परेको छ । क्षेत्र नम्बर तीन राजपाको भागमा परेको छ । जहाँबाट राजपाका नेता राजेन्द्र महतो चुनावमा उठ्ने सम्भावना रहेको छ । तर कांग्रेससँगको तालमेल पछि महतोको विषयमा निश्चित हुनेछ ।

राजपा र फोरमबीच सिट बाँडफाँड भएपनि कांग्रेससँगको छलफल जारी रहेको छ । मंगलबार साँझ राजपा–फोरम र कांग्रेसबीच तालमेलको विषयमा अन्तिम छलफल हुँदैछ । बालुवाटारमा सिट बाँडफाँडमा कुरा मिले पछि राजपाले सम्पूर्ण उम्मेदबारहरुको नाम मंगलबार नै टुँगो लगाउनेछ ।