काठमाडौं
– निर्वाचन सुरक्षाका लागि योजनाबद्ध रुपमा फौज परिचालन गर्न रक्षामन्त्री भीमसेनदास प्रधानले नेपाली सेनालाई निर्देशन दिएका छन्।

जंगी अड्डामा निर्वाचन सम्बन्धी कार्यक्रममा मन्त्री प्रधानले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न योजनाबद्ध रुपमा फौज परिचालन गर्न निर्देशन दिएका हुन्।
‘जंगी अड्डाको निर्देशनमा योजनाबद्ध रुपमा फौज परिचालन गरी निर्वाचन सफल पार्न भूमिका निर्वाह गर्नुस्’, मन्त्रीले प्रधानले भने।

मन्त्रीको निर्देशनपछि नेपाली सेनाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने बताएको छ । जंगी अड्डामा निर्वाचन सुरक्षा सम्बन्धी कार्यक्रममा प्रधानसेनापति राजेन्द्रसिंह क्षेत्रीले सुरक्षामा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका हुन्।

निर्वाचन सुरक्षा मामिलामा अन्तर्राष्ट्रिय क्षेत्रबाट समेत सेनाको प्रशंसा भएको भन्दै प्रधानसेनापति क्षेत्रीले आफ्नो छवि कायम राख्न मातहतका निकायलाई निर्देशन दिए।