रोहित कुमार महतो, जनकपुर : प्रदेश २ का समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा आफैँ अदालतमा उपस्थित हुने भएका छन्।

मधेस आन्दोलनको क्रममा असई थमन विक हत्याका अभियुक्त भनिएका राज्यमन्त्री शर्मा अर्को साता अदालतमा उपस्थित हुने स्रोतले जनाएको छ । उच्च अदालत जनकपुरले थमन हत्याका अभियुक्तहरुलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीको नाउँमा परमादेश जारी गरेपछि राज्यमन्त्री शर्मा सोझै अदालतमा हाजिर हुने बताइएको छ ।

थमन हत्याका अभियुक्तहरु पक्रन उच्च अदालत जनकपुरले १६ साउनमा जिल्ला प्रहरी कार्यालयको नाउँमा परमादेश जारी गरेको थियो । अदालतले परमादेश जारी गरेपछि राज्यमन्त्री शर्मा अहिले मन्त्रालय आउन समेत छाडेका छन्।

झुटा मुद्दा लगाइएपनि अदालतको निर्णयलाई सम्मान गर्दै आफू अदालतमा उपस्थित तयार भएको बताएको स्रोतो दाबी छ। यसअघि पनि राज्यमन्त्री शर्माले अदालतको निर्णयलाई सम्मान गर्ने बताएका थिए ।

शर्मा सहित थमन हत्याका अन्य अभियुक्तको विषयमा राजपा अध्यक्ष मण्डलका सदस्यहरुबीच भएको छलफलमा शर्मालाई कानूनी प्रक्रियामा जान सुझाव दिएको बताइएको छ । संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित प्रदेशसभा सदस्य कौशल रायलाई प्रहरीले हत्याको मुख्य अभियुक्त बनाएको छ ।

राज्यमन्त्री शर्मा, जलेश्वर नगरपालिकाका नगर प्रमुख रामशंकर मिश्र(शंकर शाही) लगायत २८ जना थमन हत्या घटनाका अभियुक्तहर हुन । शर्मा र मिश्र दुवैजना राजपाबाट निर्वाचित भएका छन्। मधेश आन्दोलनको क्रममा महोत्तरीमा कार्यरत विकको २५ भाद्र २०७२ मा हत्या भएको थियो ।