सिरहा । ममिर्चैयाका युवाहरुको साझा संगठन ‘अष्टाबक्र फाउन्डेसन’मा आवद्ध रहेको युवाहरु एकवद्ध भई सरसफाई अभियानमा जुटेका छन् ।

मिर्चैया सहित आसपासका क्षेत्रका साथै सार्वजनिक पाटी पौवा र पौराणिक महत्व बोकेका नजिकका ठाउँहरुको सरसफाईलाई मध्यनजर गर्दै युवाहरु सामूहिक सरसफाई अभियानमा जुटेका हुन् ।

विभिन्न पेशामा आवद्ध रहेका मिर्चैया नगर क्षेत्रका युवाहरुद्धारा गठित अष्टाबक्र फाउन्डेसनले थालनी गरेको सरसफाई अभियान अन्तर्गत आज दोश्रो सप्ताह फोहोर व्यवस्थापनका लागि मिर्चैयास्थित साझा सलहेश चोकको सार्वजनिक ठाउँहरुमा डस्टविन राखेका छन् ।

स्थानीय क्षेत्रकोे विकास र सरसफाईमा स्थानीय जनप्रतिनिधिहरु मौन रहँदा युवाहरुले प्रत्येक शनिवार सरसफाई गर्ने अभियानको थालनी गरेका छन् । फाउन्डेसनले प्रत्येक शनिवार सरसफाईमा जुट्ने अभियानको थालनी गरे अनुरुप अभियानलाई निरन्तरता दिदै आएको हो ।

मात्र केही युवाहरुले सुरुवात गरेको सरसफाई अभियानमा स्थानीय अन्य युवाका साथै सर्वसाधारण तथा व्यापारीहरुले समेत उत्तिकै साथ दिएका छन् । युवाहरुले सरसफाईका साथै अन्य सचेतना मूलक कार्यक्रमलाई समेत प्राथमिकतामा राखी संचालनमा ल्याउने योजना राखेका छन् ।