ईमधेश डट कम,जनकपुर ।१७ मंसिर । मधेशलाइ छुट्टै देश बनाउने अभियानमा लागेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउत विरुद्धको राज्य विप्लवको मुद्दामा छ/छ पटकसम्म तारिख दिएको सर्वोच्च अदालतले अन्ततः बन्दी प्रत्यक्षीकरणको रिट नै खारेज गरेको छ ।

सोमबार भएको बहसपश्चात् सर्वोच्च अदालतले जिल्लाको मुद्दा भएकोले जिल्लाले नै फैसला दिने भनी बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको हो ।

राज्य विप्लवकै मुद्दामा असोज २१ गते तारिख लिन आएका बेला गौरस्थित जिल्ला अदालत रौतहटको परिषदबाट ४ वर्षीय छोरी सहित डा. राउतलाई प्रहरीले पक्राउ गरेको थियो ।

डा.राउतका दाई जयकान्त राउतले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका लागि रिट दायर गराएका थिए । सोही अनुसार जिल्लाबाट सर्वोच्च अदालतमा राउतलाई उपस्थित गराइएको थियो ।

प्रहरीले ठोस प्रमाण जुटाउन नसक्दा सर्वोच्च अदालतले पटक–पटक तारिख दिँदै आएको थियो । तर, आज बिना कुनै फैसला रिट नै खारेज भएको हो ।