जनकपुरधाम : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले संचारक्षेत्रको वृति विकासको लागि प्रदेश सरकार तत्पर रहेको बताएका छन् ।

प्रेस काउन्सिल नेपालले शुक्रबार जनकपुरमा आयोजना गरेको आचारसंहिता प्रशिक्षक प्रशिक्षण तालिमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले मधेशका पत्रकारहरूमाथि हुँदै आएको विभेद अन्त गर्न प्रदेश सरकार हरेक कदम चाल्न तयार रहेको बताए ।

उनले पत्रपत्रिकाहरुको वर्गीकरणमा भेदभाव हुँदै आएकोले प्रदेश सरकार छुट्टै प्रदेशस्तरीय प्रेस काउन्सिल गठन गर्ने तयारी गरेको समेत उल्लेख गरे ।

मुख्यमन्त्री राउतले पत्रकारहरुलाई सत्य र निष्पक्ष कलम चलाएर प्रदेशलाई समृद्धिको बाटो लग्न सहयोग गर्नु पर्ने उल्लेख गरे ।

पत्रकारहरुको वृतिविकासको लागि प्रदेश सरकारले यसै आर्थिक वर्ष आमसंचार प्रतिष्ठान समेत गठन गर्न लागेको जानकारी गराए ।

आमसंचार प्रतिष्ठान र प्रदेश प्रेस काउन्सिल सम्बन्धी विधेयकमा पत्रकारहरुको समेत सुझाव लिने उल्लेख गर्दै उनले प्रदेशले प्रेस काउन्सिल गठन गर्दैमा केन्द्रीय प्रेस काउन्सिललाई आतिनु पर्ने अवस्था नरहेको उल्लेख गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, प्रदेश अध्यक्ष दिपेन्द्र चौहान, प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठसहित उपस्थित थिए ।