अमर पासवान।सिरहा, पुस २६ । सिरहाको कल्याणपुर नगरपालिकामा ४ दिन नबित्दै गएराति पुनः डकैती भएको छ । कल्याणपुर नगरपालिका ३ प्रसाहीमा राति करिब १ बजेको समयमा हतियारधारी लुटेराहरुको एक समूहद्धारा एकजनाको घरमा लाखौंको लुटपाट गरिएको छ ।

कल्याणपुर न. पा. ३ प्रसाहीका रामदेव मण्डलको घरमा करिब १५ भन्दा बढी हतियारधारी लुटेराहरुको एक समूहले १ लाख २० हजार नगद, १८ तोला सुन, ५०० ग्राम चाँदी गरी जम्मा करिब ११ लाख मूल्य बराबरको लुटपाट गरेको छ भने पैसा लगानी गरेको कपाली र बिना कपाली लगानी गरेको पैसाको हरहिसाब डायरीसमेत लुटेर लगेको पीडितले जनाएको हो ।

राती करिब १ बजेको समयमा आएका लुटेराहरुले घरको छतमा भर्‍याङ लगाएर छतमाथि चढेको र माथि ढोकासमेत नहुँदा सहजै घरभित्र पसी हतियार देखाएर कुटपिट गर्दै लुटपाट गरेको पीडितले बताए ।

लुटेराहरुले लुटपाट गरेर गइसकेपछि उनीहरूले प्रहरीमा खबर गरेको र खबर लगत्तै प्रहरी घटनास्थलमा पुगेको कल्याणपुर प्रहरीका ईन्चार्ज तुलसी प्रसाद पोखरेलले जानकारी दिए ।
आवाज लगाएपछि डाँकाहरुले ज्यान मार्ने त्रास देखाएपछि त्यतिबेला केही बोल्न नसकेको र डाँकाहरु गइसकेपछि मात्र बाहिर जानकारी गराएको पीडितलाई उदृत गर्दै प्रहरीले जनाए ।

कल्याणपुर नगरपालिकाकै वडा १० मा गत २२ रातिमात्र सुरुङ खनेर लाखौंको चोरी भएको थियो । पटकपटक चोरीका घटना भइरहँदा समेत प्रहरीले खासै चाँसो नलिएको स्थानीयहरुको आरोप छ । कल्याणपुरमै प्रहरी चौकी भएपनि नजिकमै यस्ता घटना पटकपटक भइरहनु आश्चर्यजनक भएको उनीहरु बताउँछन् । यस् सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।