सिरहा : सिरहाको मिर्चैयामा एक किशारी उपर नेपाली सेनाका जवानद्धारा बलात्कारको प्रयास भएको छ । मिर्चैया नगरपालिका–६, मटियर्वामा शुक्रबार राति करिब साढे ९ बजेको समयमा श्री नयाँ श्री नाथ गन चोहर्वाका ३ जना जवानहरुले १ किशोरी उपर बलात्कारको प्रयास गरेको हो ।

    फोटो:अरबिन्द सहनि

आवाज सुनेर स्थानीयहरुले किशोरीलाई उद्धार गरी सेनाका जवानहरुलाई नियन्त्रणमा लिन खोज्दा उनीहरु भाग्न खोजेका थिए । खेद्दैजाँदा १ जना समातिएपनि दुईजना भने फरार भए ।

पक्राउ परेका नेपाली सेनाका जवान दिपेन्द्र शाही हुन् ।
नियन्त्रणमा लिएका उनलाई स्थानीयहरुले हात बाँध्दैगर्दा होहल्ला भएपछि घटनास्थलमा पुगेका मिर्चैया प्रहरीले सेनाका जवानसहित ३ जना स्थानीयलाई समेत पक्राउ गरेका छन् ।
आवेशमा स्थानीयहरुले कुटपिटसमेत गरेका सेनाका जवानलाई राति नै उपचारका लागि बाहिर पठाइएको छ भने पक्राउ गरेका उनीहरुलाई रातभर प्रहरीले यातना दिएको किशोरीका दाईले सुनाए ।

पीडितलाई न्याय दिलाउनुको साटो बलात्कारीलाई नै बचाउन खोजेको भन्दै मिर्चैयामा स्थानीयहरुले बिहानैदेखि चक्काजाम गरेर बल प्रदर्शन गरिरहेका छन् ।

यता, ईप्रका मिर्चैयाका डिएसपी सुकदेव खनालले जवानलाई कुटपिट गरेको देखिएपछि उनीहरुलाई तत्काल नियन्त्रणमा लिएको बताए ।