वीरगन्ज : प्रहरीले बरामद गरेको केराउ सहितको ट्रक छुटाउन भन्दै वीरगन्ज पोखरिया सडक खण्डको विन्दवासिनीमा बुधबार प्रदर्शन गरेका ७ जनालाई पक्राउ परेका छन् ।पर्सा प्रहरीले बिलविजक भएको केराउसहित ट्रक पक्राउ गरेको भन्दै विन्दवासनी गाउँपालिकाका व्यापारीले प्रदर्शन गरेका हुन् । वीरगन्ज–पोखरिया सडकखण्डअन्तर्गत तिलावेपुलमा व्यापारीले टायर बाली सडकमा अवरोधसहित प्रदर्शन गरिरहेका बेला प्रहरीले हस्तक्षेप गरी लाठीचार्ज गरेको थियो ।
प्रहरीले व्यापारी रंजन तिवारी, निरञ्जन तिवारी, शंकरपुकार तिवारी, सोनालाल साह, रवि गुप्ता, दामोदर तिवारी, सन्तोष गुप्ता र नवलकिशोर साहलाई पक्राउ गरेको छ ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेकोे प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले बताए ।प्रदर्शनमा प्रहरी हस्तक्षेपको दृश्य कैद गरिरहेको जनता टिभीका पर्सा संवादाता, श्याम कुशवाहा, प्राइम टिभीका संवादाता आरवन साह, स्थानीय एनपी डेलीका दीपक चौरसियामाथि पनि प्रहरीले लाठी प्रहार गरेको छ ।

प्रहरीले हिर्काएको लाठीले पत्रकार कुशवाहाको मुखमा चोट लागेको छ । भिडियो किन खिचेको भन्दै प्रहरीले अन्धाधुन्ध लाठी चार्ज गरेपछि आफूहरु घाइते भएको पत्रकार कुशवाहाले बताए । प्रहरीले आरवन साहको क्यामरामा पनि क्षति पुर्याएको छ ।बिहान ११ बजेदेखि तिलावे पुलमा व्यापारीहरुले टायर बाली प्रदर्शन गरी सडक अवरोध गरेका कारण ३ घण्टा वीरगन्ज पोखरिया सडकखण्ड अवरुद्ध भएको थियो ।

वीरगन्जको रामगढवास्थित सरिना इन्टरप्राइजेजबाट पर्साको विन्दवासनी गाउ“पालिका ४ को संदीप सप्लायर्सले खरिद गरेको २५ टन केराउ ना४ख १२२ नम्बरको ट्रकमा विन्दवासनी लैजा“दै गरेको अवस्थामा बुधबार बेलुका साढे आठ बजे वडा प्रहरी कार्यालय श्रीपुरले तिलावे पुलबाट नियन्त्रणमा लिएको थियो ।प्रहरी निरीक्षक चक्रबहादुर मल्लको नेतृत्वमा रहेको टोलीले केराउसहित ट्रक, चालक र सहचालकलाई नियन्त्रणमा लिएको हो । प्यान बिलसहित ल्याएको केराउ भ्याट बिल हुनुपर्ने भन्दै प्रहरी निरीक्षक मल्लले नियन्त्रणमा लिएको संदीप सप्लायर्सका प्रोप्राइटर आदर्शकुमार साहले बताए ।