जनकपुरधाम: आइतबारराति आएको भीषण आँधीबेरीमा बारा र पर्सा जिल्लामा मृत्यु भएकाहरुप्रति नवगठित जनमत पार्टीले भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै पीडित परिवारहरुमा समवेदना प्रकट गरेको हो।

जनमतका केन्द्रीय सदस्य अब्दुल खानले सोमबार एक विज्ञप्ति जारी गरी प्राकृतिक प्रकोपमा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै राहत एवं उद्धार कार्यमा तत्पर भएर लाग्न सबै स्वयंसेवकहरुलाई निर्देश दिँदै अन्य सामाजिक संघ संस्थाहरुसँग पनि सहयोगका लागि हार्दिक अपील गरेका हो।

प्राकृतिक प्रकोपमा ठूलो धनजनको क्षति भएको, कम्तीमा २७ जनाको मृत्यु भएको, सयौं घाइते भएको र हजारौं जनता घरबारविहीन बनेको यस घडीमा नेपाल सरकार र प्रदेश नं. २ सरकारसँग जनमत पार्टीले पाँच सूत्रीय माग राखेको हो।

सुविधासम्पन्न ठाउँमा घाइतेहरुको अविलम्ब निस्शुल्क उपचार, घरबाट विस्थापितलाई तत्काल अस्थायी बसोबास (टेन्ट) र खानाको व्यवस्था गर्ने, मृतकको परिवारलाई १५ लाख क्षतिपूर्ति, घर पुनर्निर्माणका लागि प्रभावित हरेक परिवारलाई १५ लाखसम्म उपलब्ध गराउनु पर्ने र किसानहरुको नष्ट भएको फसल वापत् उपयुक्त क्षतिपूर्तिी तथा बैंक ऋण मिनाहा गर्नुपर्ने माग जनमत पार्टीले गरेको हो।