डा. जयकान्त राउत आजको युगसम्म आइपुग्दा विज्ञान र प्रविधिले मानव विकासमा अभूतपूर्व क्रान्ति ल्याएको छ । यसले मानिसलाई अविकासको अँध्यारोबाट विकासको आलोकतिर उन्मुख गराएको छ । त्यसैले, विज्ञान र प्रविधिलाई आर्थिक समृद्धिको इन्जिनका रूपमा लिने गरिन्छ । विज्ञान प्रविधिको विकास र प्रयोगबिना देशको उन्नति र प्रगतिको कल्पनासमेत गर्न सकिँदैन । विश्वविख्यात नोबेल पुरस्कार विजेता वैज्ञानिक अब्दुल कलामले विकसित र विकासशील देशको फरक केवल विज्ञान र प्रविधिको प्रयोगसँग तुलना गरेका थिए । जुन देशले आफ्नो प्रयोगको लागि विज्ञान र प्रविधिको आधिकाधिक उपयोग गरे तिनीहरू विकसितको सूचीमा पुगे भने विज्ञान र प्रविधिको उपयोग नगर्ने राष्ट्रहरू अझै विकासशील र अविकसितको कोटीमा नै छन् ।

विज्ञान तथा प्रविधिको उचित विकासबिना सामाजिक र आर्थिक समृद्धि हासिल गर्न कठिन हुने तथ्यलाई सायद मनन गरेरै होला नेपालमा पनि यसको लागि विगतदेखि विभिन्न संस्थागत, नीतिगत तथा कार्यगत प्रयास हुँदै आएका छन् । मुलुकभित्र विज्ञान तथा प्रविधिको औपचारिक थालनी सन् १९१९ मा काठमाडौंको त्रिचन्द्र कलेजमा सुरु गरेको प्रवीणता प्रमाणपत्र तहको विज्ञान विषयको अध्ययन अध्यापनलाई मान्न सकिन्छ । विशेषगरी, मुलुकको वनस्पति स्रोतमा अनुसन्धान र विकास कार्यको लागि सन् १९६० मा वनस्पति विभागको स्थापना भएको हो । सन् १९७६ मा राष्ट्रिय विज्ञान तथा प्रविधि परिषद्को स्थापना भएको हो । त्यसपछि सन् १९८० मा छैठौं पञ्चवर्र्षीय योजनादेखि विकास कार्यक्रमलाई विज्ञान र प्रविधिसँग जोड्ने प्रयास गरेको पाइन्छ ।

नेपालमा योजनाबद्ध विकासको क्रम सुरु भएदेखि हालसम्म १३ वटा आवधिक योजनाहरू कार्यान्वयन गरिसकिएका छन् । दोस्रो विश्वयुद्धपछि योजनाबद्ध विकासबाट विश्वका अधिकांश मुलुकहरूले विकास गर्न सफल भएका हुन् । नेपालमा पनि सन् १९५६ बाट योजनाबद्ध विकास थालिएको हो । हामीसँगै योजनाबद्ध विकासका यात्रा थालेका विश्वका अन्य कतिपय मुलुकभन्दा हामी निकै पछाडि छौं । विश्वव्यापी रूपमा चलेका विकासका मोडेलहरू अवलम्बन गरी योजना तर्जुमा गरे पनि फितलो कार्यान्वयन पक्षले गर्दा लक्ष्यमा पुग्न कठिन हुँदै आएको कुरा जगजाहेर नै छ ।
सन् १९८२ मा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको स्थापनाले विज्ञान तथा प्रविधिको क्षेत्रमा वैज्ञानिक कार्यको थालनी गरेको बुझिन्छ । नेपालको सर्वांगीण विकासका लागि मुलुकभित्र विज्ञान तथा प्रविधिको विकास, अनुसन्धान र प्रवद्र्धन गर्न, वैज्ञानिक तथा प्राविधिक क्रियाकलापका लागि उपयुक्त वातावरण सिर्जना गर्न साथै विज्ञान तथा प्रविधिको क्षेत्रमा कार्यरत प्रतिभावान् वैज्ञानिक एवं प्राविधिकहरूलाई प्रोत्साहन र कदर गर्ने हेतुले स्थापित नास्ट एक मात्र स्वशासित एवं संगठित वैज्ञानिक प्रतिष्ठान हो ।

 

” वैज्ञानिक अध्ययन, अनुसन्धान एवं विज्ञान र प्रविधिको आविष्कार, उन्नयन र विकासमा लगानी अभिवृद्धि गर्ने तथा वैज्ञानिक, प्राविधिक, बौद्धिक र विशिष्ट प्रतिभाहरूको संरक्षण गर्नेजस्ता नीतिगत व्यवस्था हाल नेपालको संविधानमै गरेको पाइन्छ ”

सन् १९९१ मा नेपाल कृषि अनुसन्धान परिषद्को स्थापना भएको हो र यसले कृषि क्षेत्रमा आवश्यक प्रविधिको विकासका लागि काम गर्दै आइरहेको छ । साथै, सन् १९९६ १५ अप्रिलमा विज्ञान तथा प्रविधि मन्त्रालयको स्थापना हुँदा सम्पूर्ण वैज्ञानिक प्राविधिक समुदाय अत्यन्तै हर्षित र उत्साहित भए तर मन्त्रालयको स्थापना विज्ञान र प्रविधिको वास्तविक विकास र विस्तारभन्दा विशेष गरी राजनीतिक आवश्यकता परिपूर्ति गर्ने उद्देश्यले भएको हुँदा पछि ती सबै आशा र उत्साह निराशामा रूपान्तरित भए । मन्त्रालयको अस्थिर सांगठनिक संरचना यसको मुख्य चुनौतीका रूपमा रहँदै आएको छ । पछिल्लो समय विज्ञान तथा प्रविधि मन्त्रालयलाई शिक्षा मन्त्रालयसँग जोडेर शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको रूपमा पुनः संगठित गरिएको छ ।

विज्ञान तथा प्रविधिको अनुसन्धान र विकासका क्रियाकलापलाई समन्वय गरी दिशानिर्देश गर्नुपर्ने भएकाले विज्ञान तथा प्रविधि नीति सर्वप्रथम सन् १९८९ जारी भयो । यस नीतिलाई समयानुकूल परिमार्जन र विस्तार गर्दै २०६१ सालमा विज्ञान तथा प्रविधि नीति २०६१ जारी भएको छ । हाल यो नीति परिमार्जनको क्रममा छ । विज्ञान तथा प्रविधिको क्षेत्रबाट मुलुकलाई समृद्ध बनाउनका लागि श्वेतपत्र जारी गरी नयाँ रणनीतिक योजना निर्माणको चरणमा रहेको छ । यसरी विज्ञान प्रविधिको विकास तथा विस्तारमा मन्त्रालय, विभिन्न अनुसन्धान संस्था, शैक्षिक क्षेत्र र आवश्यक नीतिहरूको निर्माण भएपनि क्षेत्रले अपेक्षित उपलब्धिहरू हासिल गर्न असफल देखिएका छन् । मुलुकमा विज्ञान तथा प्रविधिको अवस्था नाजुक छ ।
अनुसन्धानक्रममा उत्प्रेरणाको कमी, खोज अनुसन्धानका माध्यमबाट जीविकोपार्जन गर्न सक्ने आधारहरू निर्माण हुन नसक्नु, खोज अनुसन्धानको उपयुक्त वातावरण नहुनु, स्रोत साधनको अभाव हुनु, दक्ष वैज्ञानिक प्राविधिकको अभाव, उपलब्ध वैज्ञानिक प्राविधिकलाई खोज अनुसन्धानको सट्टा जागीरमा मात्र सीमित पार्नु, विज्ञान तथा प्रविधिप्रति राजनीतिक नेतृत्वको कमजोर इच्छाशक्ति, अस्थिर राष्ट्रिय राजनीति, विज्ञान र प्रविधि क्षेत्रमा कार्यरत विभिन्न निकायबीच प्रभावकारी समन्वय हुन नसक्नु, निजी क्षेत्रलाई आकर्षित गर्न नसक्नु, खोज अनुसन्धानमा न्यून लगानी आदि नेपालमा विज्ञान तथा प्रविधिको उचित विकास हुन नसक्नुका केही प्रमुख कारणहरू मान्न सकिन्छ ।

 

”सन् १९७६ मा राष्ट्रिय विज्ञान तथा प्रविधि परिषद्को स्थापना भएपछि सन् १९८० को छैठौं पञ्चवर्र्षीय योजनादेखि विकास कार्यक्रमलाई विज्ञान र प्रविधिस“ग जोड्ने प्रयास गरेको पाइन्छ ”

तेह्रौं योजनाले सन् २०२२ सम्ममा नेपाललाई अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने दीर्घकालीन सोचका साथ कार्यक्रमहरूको तर्जुमा गरेको हो । राष्ट्रिय विज्ञान, प्रविधि र नवीनतासम्बन्धी रणनीतिपत्र र नीति तयार हुने, संख्यात्मक र गुणात्मक हिसाबले थप वैज्ञानिक एवं प्राविधिक जनशक्तिको विकास हुने, विज्ञान र प्रविधिको क्षेत्रमा थप नीतिगत र संस्थागत संरचना निर्माण र सुदृढीकरण भई अनुसन्धान र विकास कार्यमा सहजता हुने, नेपालमा विज्ञान तथा प्रविधिको विकास एवं तिनको उपयोगको स्पष्ट मार्गचित्र तयार हुने हाल कार्यान्वयनमा रहेका चौधौं योजनाका केही अपेक्षित
उपलब्धिहरू हुन् ।

अर्काेतिर विज्ञान प्रविधि र अनुसन्धानको क्षेत्रमा देशको लगानी बढाउनु, मुलुकमा रहेका अनुसन्धान निकायहरूलाई एउटै छाता नीतिअन्तर्गत ल्याउनु, युवा वैज्ञानिक तथा प्रतिभाहरूलाई मुलुकभित्रै काम गर्ने वातावरण तयार पार्नु यस योजनाका मुख्य चुनौतीहरू रहेका छन् । कुनै पनि योजना कार्यान्वयनका लागि यसको सफल र सक्षम व्यवस्थापन महŒवपूर्ण पाटो हो । वैज्ञानिक अध्ययन अनुसन्धान एवं विज्ञान र प्रविधिको आविष्कार, उन्नयन र विकासमा लगानी अभिवृद्धि गर्ने तथा वैज्ञानिक, प्राविधिक, बौद्धिक र विशिष्ट प्रतिभाहरूको संरक्षण गर्नेजस्ता नीतिगत व्यवस्था हाल नेपालको संविधानमै
गरेको पाइन्छ । अबको स्थिर र शक्तिशाली राजनीतिक नेतृत्वले दृढ इच्छाशक्तिका साथ विज्ञान र प्रविधिको विकास र विस्तार गर्दै समृद्धशाली राष्ट्र निर्माणमा अग्रसर हुनु अपरिहार्य छ ।

(लेखक हाल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा वरिष्ठ वैज्ञानिक अधिकृतका रूपमा
कार्यरत छन्)