राजनीतिमा योग्य व्यक्ति आउन नसक्दा भ्रष्टाचार हावि : डा सीके राउत

मनोज मोरबैता,जनकपुरधाम : जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले वर्तमान जनप्रतिनिधि शोषण, दमन र भ्रष्टाचारमा लिप्त भएर छोटे राजा बनिरहेको आरोप लगाएका छन् ।बुद्ध जयन्तीको अवसरमा जनकपुरमा शनिबार आयोजित राजनीतिक तथा सामाजिक परिवर्तनमा युवा एवं विद्यार्थी नेतृत्वको भूमिका विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै राउतले सो कुरा बताएका हुन् ।

जनप्रतिनिधिहरु शोषण, दमन र भ्रष्टाचारमा लिप्त भएर छोटे राजा बनिरहेको आरोप लगाए । जनप्रतिनिधिले नै भ्रष्टाचार गर्न कर्मचारीमाथि दबाब दिने गरेको राउतको दाबी थियो ।
मासु बाँडेर चुनाव जितेकाहरु अहिले पैसा छाप्न व्यस्त रहेको भन्दै राजनीतिमा योग्य व्यक्ति आउन नसक्दा भ्रष्टाचार हावी भएको उनले बताए । तर नेतामात्रै दोषी नभएर जनतासमेत दोषी रहेको उनले बताए । प्रदेश सरकारप्रति आक्रोशित देखिएका राउत ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान देखबामात्र रहेको टिप्पणी समेत गरेका थिए ।

राउतले भ्रष्टाचार मौलाउनुमा राजनितिज्ञ मात्र नभएर जनता समेत दोषी रहेको टिप्पणी गरे । संघीय सरकारको मिडिया काउन्सिल र प्रदेश सरकारले ल्याएको सञ्चार विधेयकप्रति समेत राउतले आक्रोश पोखेका छन । दुबै सरकारले ल्याएको विधेयक स्वतन्त्रता विरोधी रहेको भन्दै उनले फिर्ता गर्न माग गरेका छन । सञ्चारकर्मीहरुको सबालमा संघभन्दा बढी खतरनाक प्रदेश सरकार देखिएको भन्दै राउतले पत्रकारले स्वतन्त्रतापूर्वक लेखे भ्रष्टाचार गर्न समस्या हुनेभएकोले १ करोड जरिवानाको प्रावधान राखेर प्रदेश सरकारले यस्तो विधेयक ल्याएको जिकिर समेत गरेका हुन।

यसैबीच,सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय समेत घेराउ गरेका छन । स्वतन्त्र पत्रकारितमाथि अंकुश लगाउने गरी प्रदेश सरकारले ल्याएको सञ्चार विधेयकको विरोध गर्दै उनीहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय घेराउ गरेका हुन । 

जनकपुर उद्योग वाणिज्य संघबाट नारा जुलससहित निस्केको जनमत पार्टीको ¥याली मुख्यमन्त्री कार्यालय नजिक पुगेर केहिबेर सञ्चार विधेयक र प्रदेश सरकारको विरोधमा नाराबाजी गरेको थियो । प्रदेश सरकारले आफुले गर्ने भ्रष्टाचार लुकाउन सञ्चारकर्मीहरु माथि अंकुश लगाउन १ करोडसम्म जरिवाना हुनेगरी विधेयक ल्याएको उनीहरुको भनाइ रहेको छ।