राजु विश्वकर्मा , लाहन : घरसँगै टाँसिएको छ आधारभूत विद्यालय तर, राजविराज नगरपालिका–९ मलेठका ६ वर्षीय शम्भु मलिक पढ्न विद्यालय जाँदैनन् ।

पढ्ने रहर भए पनि आफूहरुमाथि हुने विभेद र अपमानका कारण मनोज मरिक विद्यालय नगई घरमा खेलेरै दिन बिताउने गर्छन् । पढ्ने उमेर पुगेका सोही ठाउँका ९ वर्षीया ज्योति मरिक पनि विद्यालय जाँदिनन् । उनी बाँसको सामान बनाउने आमाबुबाको कामलाई सघाउने गर्छिन् ।

देशभरी विद्यालय भर्ना अभियान चलिरहेका बेला मनोज र सुरज मात्रै होइन, सो डोम बस्तीका अधिकाँश बालबालिका विद्यालय बाहिरै छन् । सदरमुकाम राजविराजदेखि करीब ३ किलोमिटर उत्तरमा रहेको डोम बस्तीमा अहिलेसम्म यस अभियानको कुनै प्रभाव पर्न सकेको छैन ।

राजविराज–रुपनी सडक छेउमै रहेको सो डोम बस्तीका अधिकाँश बालबालिकाहरु विद्यालय बाहिरै रहँदा समेत भर्ना अभियानलाई लिएर न त अहिलेसम्म कुनै विद्यालयका शिक्षक पुग्न सकेको छ न त कुनै सङ्घ संस्थाका प्रतिनिधि नै ।

पाँच/छ घरपरिवार रहेको सो डोम बस्तीमा १० भन्दा बढी विद्यालय जाने उमेरका बालबालिका छन् । उनीहरुमध्ये कतिपय विद्यालय नगई घरमै आमाबुबासँग दिन बिताउँछन् भने कतिपयले सुँगुर चराउन जाने गरेका छन् । उनीहरुमा विद्यालय जानुपर्छ भने चेतना आउन सकेकै छैन ।

छोराछोरीलाई विद्यालय पठाउनुपर्छ भन्ने सोच पनि डोम अभिभावकमा पलाउन सकेको छैन । विद्यालयमा डोम भनेर शिक्षक र अन्य जातका विद्यार्थीहरुबाट हेलाँहोचोका कारण आफूहरुका छोराछोरी विद्यालय जान नमानिरहेको स्थानीय डोम अभिभावकहरुको भनाइ छ ।

स्थानीयवासी राजेन्द्र कुमार मरिक भन्छन्– ‘एकातिर अभिभावकले आफ्ना बालबच्चालाई स्कुल पठाउन त्यति चासो लिँदैनन् भने अर्कोतर्फ विद्यालयमा हुने गरेको विभेदका कारण पनि विद्यार्थीहरु स्कुल जान मान्दैनन् ।’

विद्यालय जाने रहर बालबालिकामा छ तर, उनीहरुका लागि अध्ययन गर्ने अनुकूल वातावरण छैन । अर्का स्थानीयवासी नुनु मरिक भन्छन्– ‘विद्यालयका केही सरहरुले डोम भनेर बच्चाहरुलाई हेप्ने, छुट्टै बेञ्चमा बस्न लगाउने, अन्य जातिको विद्यार्थी भन्दा डोमका बच्चालाई फरक व्यवहार गर्ने गरेकाले उनीहरु विद्यालय जान मान्दैनन् ।’

दलित समुदायमा पनि सबैभन्दा तल्लो जातिको मानिने डुम समुदायका बालबालिकाहरु झन् विद्यालयसम्म पुग्नै सकिरहेका छैनन् । दलित अगुवा तथा डुम उत्थान समाजका अध्यक्ष युक्तिलाल मरिक भन्छन्– ‘डोमका बालबालिकालाई अझै सप्तरीका कतिपय विद्यालयहरुमा छुट्टै बेञ्चमा बसाउने, डोम भन्नेर हेप्ने जस्ता कार्यहरु भइरहेकाले डोम बालबालिकाहरु स्कुल जान मानिरहेका छैनन् ।’

शिक्षकहरुको व्यवहारमा परिवर्तन नआएसम्म र अन्य जातका विद्यार्थीसँगै डोम बालबालिकालाई राखेर पढाउने वातावरण नबनेसम्म डोम बालबालिकाहरु निर्धक्क भई विद्यालय जान नसक्ने अध्यक्ष मरिकको बुझाइ छ ।

डोम जातिको बस्ती नजीक विद्यालय हुनु तर, बस्तीका बालबालिकाहरु विद्यालय नजानु आश्चर्यजनक कुरा हो । स्थानीयवासी अनिल यादव भन्छन्– ‘राज्यले दलित विद्यार्थीलाई थुप्रै सुविधाहरु दिइरहेका छन् तर, यहाँका बालबालिका किन स्कुल जाँदैनन् रु अच्चम लाग्ने कुरा हो ।’ डोम बालबालिकाहरु विद्यालय नजानाका कारण पत्ता लगाएर उनीहरु नियमित विद्यालय पुग्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।

यता मलेठस्थित आधारभूत विद्यालयका प्रअ बैजनाथ प्रसाद यादव भन्छन्– ‘डोम समुदायका बालबालिकालाई स्कुलसम्म ल्याउन धेरै पटक प्रयास ग¥र्यौं तर, विद्यालयसम्म ल्याउन सकिरहेका छैनौं ।’ कतिपय विद्यार्थीलाई विद्यालयमा भर्ना गराए पनि बीचमै विद्यालय छाड्ने गरेको प्रअ यादव बताउँछन् ।

प्रअ यादवले भने– ‘विद्यालयमा डोम विद्यार्थीमाथि कुनै किसिमको विभेद छैन । यदि शिक्षक वा विद्यार्थीबाट त्यस्तो विभेद भएको छ भने जानकारी पाएमा कार्वाही गर्छौं ।’

अभिभावकलाई सचेत पार्न सकिए काम छोडाएर सरसफाईसँगै आफ्ना सन्तानलाई नियमित विद्यालय पठाउन थाल्ने प्रअ यादवको विश्वास छ ।