हरिराम यादवलाई न्यायको माग गर्दै , विद्यार्थी जनमत संघले गरे प्रदर्शन

जनकपुरधाम । गत जेष्ठ १० गतेको काठमाडौंमा पहाडी मूलका यूवाहरुको एक समूहद्धारा कुटिएका हरिराम यादवको न्यायको लागि काठमाडौंको माईतीघर मण्डलामा विद्यार्थी जनमत संघले शान्तिपूर्ण प्रदर्शन गरिएको छ ।

डा. सिके राउत नेतृत्वको जनमत पार्टीको जनवर्गीय विद्यार्थी संगठन विद्यार्थी जनमत संघ तथा युवा जनमत संघले माईतीघर मण्डलामा विभिन्न नारासहित यादवको न्यायको लागि खवरदारी गरेको हो ।

 

काठमाडौंमा बसुन्धारास्थित पसल थापेर बस्दै आएका महोत्तरीको महोत्तरी गाउँपालिका–१ पर्साका अन्दाजी २८ वर्षीय हरिराम यादव उपर ज्यालेवा हमला गरेकाहरुको कारवाहीका लागि प्रहरीले वास्ता नगरेपछि जनमत पार्टी सम्बद्ध युवाहरु एक्सनमा उत्रिएका हुन् ।

दोषीलाई कडा कारवाहीको गर्दै आज उनीहरुले माईतीघर मण्डला तताएका छन् । उनीहरुले रंगभेद आक्रमण अन्त गर, मानव अधिकार कायम गर, दाषी माथि कारवाही गर, मधेशी माथिको रंगभेद आक्रमण अन्त गर, अब मधेशीले विभेद सहदैन, हरिराम यादवलाई न्याय देउ लगायतका नारा धन्काएका थिए ।

दोषीलाई कारवाही नभए विकल्पमा जाने उनीहरुले चेतावनी दिएका छन् । गत शुक्रवार राती करिब ९ बजेतिर पसल बन्द गरेर डेरा जाने क्रममा यादव उपर ज्यानलेवा हमला भएको थियो ।

रड प्रहारबाट यादवको टाउको फुटेको छ भने टाउकोमा आठ वटा टाका लगाइएको छ । तर, प्रहरीले दोषीलाई समाउन हालसम्म चाँसो लिएको देखिएको छैन ।
यस्तै, हरिराम यादवको न्यायको लागि काठमाडौंस्थित मधेशी आयोगमा ज्ञापनपत्र समेत बुझाएको विद्यार्थी जनमत संघका पोषन यादवले जानकारी दिए ।